भुँडीपुराण प्रकाशनको “नेपालको इतिहास (गोर्खाली सेनाको ऐतिहासिक विवरणसहित)” अर्जुन ज्ञवालीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यस पुस्तकमा राष्ट्रियताका प्रखर प्रवक्ता योगी नरहरिनाथबाट पहिले सङ्कलित भई प्रकाशित गरिएका श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र नेपाली सेनाको संक्षिप्त इतिहासलाई मुख्य आधार बनाइएको छ ।
नेपालको अर्थनीति, समाजनीति, कूटनीति र राजनीतिलाई समेत मार्गदर्शन गर्न सक्ने दिव्योपदेशलाई यहाँ निकै महत्त्व दिएर त्यसको व्याख्या र मूल हस्तलिखितप्रतिको उतारसमेत गरेर राखिएको छ । यसबाट दिव्योपदेशको ऐतिह्य र यथार्थताको अनुशीलन गर्न चाहनेहरूका लागि यो प्रामाणिक स्रोत बन्न सक्तछ ।
गोरखालीहरूको श्री सैनिक इतिहासमा नेपाली सैनिकहरूले कहिले कहिले कसकससँग युद्ध गरेका थिए र के-कस्तो वीरता प्रदर्शन गरेका थिए भन्ने तिथिमितिसमेतको फेहरिस्त प्रस्तुत गरिएको छ । नेपाली सेनाको इतिहासबारे चाख राख्नेहरूका लागि यो शीर्षक उपयोगी हुनेछ । योगी नरहरिनाथले स्वयं लेखेको यस लेखको महत्ता यसै पनि ज्यादा छ ।