भुँडीपुराण प्रकाशनको “निबन्धः सिद्धान्त र विश्लेषण” डा. रजनी ढकालद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।
प्रा.डा. रजनी ढकालका शब्दमा, “नेपाली समालोचनामा आख्यानेतर गद्य विधाका समालोचना कमै छन् र यसतर्फको अनुसन्धान पनि कमै मात्रामा भएका छन् । निबन्ध र अन्य आख्यानेतर विधाका बारेमा विधागत चिन्तन भए पनि र यसको इतिहासको लेखन भए पनि यसका बारेको अन्तर्विषयक अध्ययन कमै मात्रमा भएको छ । त्यसै पनि नेपाली समालोचनाका क्षेत्रमा सांस्कृतिक समालोचनाको चिन्तन र अध्ययन निकै पछि मात्र सुरु भएको र यसको खास स्वरुपका बारेमा कमै मात्र बहस भएका समयमा समालोचक रजनी ढकालले सामाजिक र सांस्कृतिक समालोचनाका क्षेत्रमा कलम चलाएर नयाँ कार्यको थालनी गरेकी छन् । त्यसमा पनि सांस्कृतिक समालोचनाका क्षेत्रका वर्गीय, लैङ्गिक, जातीय, पर्यावरणीय विषय र समाजशास्त्रका नयाँ र पुराना सिद्धान्तको उपयोग गरेर नेपाली निबन्धको समालोचना गरिनुले यस क्षेत्रमा नयाँ द्वार खुलेको सङ्केत गर्छ । उनका समालोचनामा अध्ययनको गहिराइ छ र विषयको बोधचेतना पनि छ । त्यसबाहेक सिद्धान्तको अध्ययन र त्यसका आधारमा पाठगत विश्लेषणको पद्धति पनि निरन्तर विकासवान् छ ।”