भुँडीपुराण प्रकाशनको “श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनी” प्रा. दिनेशराज पन्तद्वारा संकलित पुस्तक हो ।
प्राचीनकालमा अर्थात् लिच्छविकालमा झण्डैझण्डै अहिलेकै जत्रो रुपमा रहेको नेपाल लिच्छविकालपछि त्यस अवस्थामा रहेन । नेपाल टुक्रँदै जाने क्रम बढ्दै गयो र विक्रमको अठारौँ शताब्दीको अन्त्यसम्म पुग्दा यस भूभागमा ५२ वटा भन्दा बढी राज्य खडा हुन गए । त्यस्तै अवस्थामा गोरखाका राजा नरभूपाल शाहका जेठा छोराका रुपमा पृथ्वीनारायण शाहको जन्म भयो र उनकै प्रयत्नले नेपालको पुनरेकीकरण अभियानले गति लियो ।
पृथ्वीनारायण शाहको विषयमा लेख्दा वि.सं. १९९२ देखि प्रयोग हुन थालेको यस उपदेशको हालसम्म निकै संस्करण प्रकाशित भइसकेका छन् । यो संस्करण तयार पार्दा राष्ट्रिय अभिलेखालय चतुर्थ लगत नं. २९१५ मा रहेको मूलपाठ र प्रा. नयनराज पन्त, श्रीदेवीप्रसाद भण्डारी, डा. गौतमवज्र वज्राचार्य र दिनेशराज पन्तद्वारा सम्पादित तथा वि.सं. २०२५ मा जगदम्बा प्रकाशन ललित्पुरद्वारा प्रकाशित श्री ५ पृथ्वीनारायण शाहको उपदेशनात्मक पुस्तकबाट प्रचलित नेपाली भाषाअनुसारको रुप दिइएको छ ।