भुँडीपुराण प्रकाशनको “समयका डोबहरू” यदुनाथ भट्टराईद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
डा. धनप्रसाद सुवेदीका शब्दमा, “यस सङ्ग्रहमा समेटिएका कथाहरू विशेषतः बालक, महिला र गरिबहरूसँग सम्बन्धित छन् । महामारी तथा प्राकृतिक विपत्ति, सामाजिक विसङ्गति आदिका कारण असमयमै बाबुआमा गुमाउन बाध्य भएका बालबालिकाले भोग्नु परेका समस्याको चित्रणमा कथाकारको विशेष रुचि देखिन्छ । असहाय बालबालिकाले भोग्नु परेका शारीरिक तथा मानसिक उत्पीडनको चित्रण गर्दै त्यस्ता उत्पीडिनको अन्त्य हुनुपर्छ भन्ने लेखकीय चाहना यी कथाहरूमा स्पष्ट रूपमा देख्न सकिन्छ । कोरोना महामारीको अवस्थामा आम मानिस र त्यसमा पनि विशेष गरेर गरिबहरूले भोग्नुपरेका पीडा, विसङ्गति र त्रासदीपूर्ण अवस्था, बाढी पहिरो जस्ता प्रकोपबाट सिर्जित समस्या, सशस्त्र जनयुद्धका समयमा राज्य पक्षबाट भएका दमन, हत्या र बेपत्ताका घटनाबाट परेको असर, भारतमा रहेका नेपालीहरूमाथि हुने दमन, हत्या, आदि विषयवस्तुमा आधारित कथाहरू यसमा सङ्गृहीत छन् ।”