महाकविकै शब्दमा: “यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु। कहीँ म प्रबन्धभित्र आफैँ घुसेको छु- व्यक्तित्वको रङ रंगाएर आफूलाई चिन्न तथा चिनाउनको लागि। कहीँ आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु। यहाँ वर्णन पाइने छन् – चित्रात्मक वर्णनहरू – जहाँ गध्यचित्रकार बनेर रङ र छायाद्वारा वस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ। पाइनेछन् यहाँ समालोचना पनि – जहाँ मानवबुद्धि अरूका कृतिउपर आफ्नो विवेकशक्तिलाई लहडी आनन्दका समयमा तिखार्छ। यहाँ गफ पनि छन् जसको आत्म-अनुभवलाई रसिलो रंगिलो बनाएर, बढाएर वा घटाएर समेत श्रोत्रीवर्गका सामुन्ने रूचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो।”