भुँडीपुराण प्रकाशनको “बन्द पर्खाल” तिलक शर्मा ‘हिमाल’द्वारा तयार पारिएको संस्मरण हो ।
जनयुद्धको क्रममा जेलभित्रका घटनामध्ये कैलालीको धनगढी कारागारका राजनीतिक बन्दीहरूको सङ्घर्ष र जनमुक्ति सेनाले जेल कब्जा गरी बन्दीहरू रिहा गराएको घटना ऐतिहासिक र महत्त्वपूर्ण छ । शर्माको यस कृतिले नेपालमा युगान्तकारी परिवर्तनका निम्ति हजारौँ योद्धा र लाखौँ जनताले गरेको त्याग र बलिदानीको गौरवगाथा स्थापित गरेको छ, जनयुद्धका आँधीमय सङ्घर्ष र योद्धाहरूको भूमिकालाई शब्दचित्रमा उतारेको छ । यस्ता कृतिहरूले नयाँ पुस्तालाई कलात्मक दृष्टिले वर्गसङ्घर्ष एवम् राजनीतिक आन्दोलनको गौरवशाली इतिहासको महत्त्वबोध गराउन एवम् कम्युनिस्ट आन्दोलनमा आबद्ध गर्दै अविच्छिन्न उत्तराधिकारी निर्माणका निम्ति महत्त्वपूर्ण योगदान पुग्दछ ।