भुँडीपुराण प्रकाशनको “अव्यक्त” अमर त्यागीद्वारा तयार पारिएको बाछिटासङ्ग्रह हो ।
लघुतम विधाहरूप्रति आजका स्रष्टा तथा पाठकहरू आकर्षित भइरहेको देखिन्छ । यही यथार्थलाई आत्मसात् गर्दै अमर त्यागीले बाछिटाको प्रतिपादन गर्नुभएको हो । बाछिटाको संरचना ३+५+३ आक्षरिक सूत्रमा हुन्छ । अति थोरैमा व्यापक कुरा भन्न सक्नु बाछिटाको विशेषता हो । यो सूत्रात्मक र प्रतीकात्मक हुन्छ र यसलाई व्याख्या गर्न सकिन्छ भन्ने कुरा यसको सिद्धान्तले पुष्टि गरेको छ ।
त्यागीको यस कृतिभित्र बाछिटाको सिद्धान्त पनि समावेश छ । यसले बाछिटा भनेको के हो ? यो कसरी लेखिन्छ ? यसका खासखास विशेषताहरू के के हुन् ? यी प्रश्नको उत्तर खोज्न सहज हुने छ भन्ने हामीलाई लागेको छ । यसभित्र अनुभव र अनुभूतिका विभिन्न अभिव्यक्ति समेटिएका बाछिटाहरू छन् ।